२०८१ पौष १८, बिहिबार
जब कुनै दम्पती सन्तानको योजनामा छन् । नियमित शारीरिक सम्पर्कमा छन् । तैपनि बच्चा बसिरहेको छैन । यस्तो अवस्थामा रहिरह्यो भने हामी शुरुमा पाठेघरको जाँच गर्छौं । त्यहाँ कुन किसिमको समस्या छ ? सोही अनुरुप समाधानको बाटो खोजिन्छ । यसको शुरुआती प्रक्रिया भनेको औषधि वा खोप हो । यसले अण्ड निषेचित गराउँछ ।
श्रीमानको शुक्रकीटको संख्या र गुणस्तर कम छ, यौन सम्पर्कमा कुनै असहज स्थिति छ भने पनि गर्भाधान भइरहेको हुँदैन । यस्तो अवस्थामा श्रीमानको शुक्रकीट लिइन्छ । त्यसबाट उच्च गुणवत्तायुक्त शुक्रकीट र अस्वस्थ शुक्रकीट अलग गरिन्छ । गुणवत्तायुक्त शुक्रकीट श्रीमतीको पाठेघरमा राखिन्छ । त्यहाँ शुक्रकीट र अण्ड प्राकृतिक रुपमा निषेचित हुन्छ । यो प्रक्रियालाई मेडिकल भाषामा हामीले आईयूआई (अन्तर्गर्भाशयी गर्भाधान) भन्छौं ।
यो पाँच-दश मिनेटको प्रक्रिया हो । यसमा महिलालाई बेहोस गर्नुपर्ने जस्तो कुनैपनि अवस्था आउँदैन । यो प्रक्रिया पहिलो चरणमा सफल भएन भने पनि आत्तिनु पर्दैन । चार-पाँच पटकसम्म गर्न सकिन्छ ।
अब पाँचौं पटकसम्म प्रयास गर्दा पनि बच्चा बस्न सकिरहेको छैन भने हामी आईभीएफमा जानुपर्छ । यसैगरी कतिपय अवस्थामा महिलाको पाठेघरको दुवै नली बन्द हुनसक्छ । महिलाको के हुन्छ भने, डिम्ब आफैं निषेचित भएर पाठेघरमा आउनुपर्छ । तर, नली नै बन्द भयो भने अण्ड पाठेघरमा आउँदैन । यस्तो अवस्थामा पनि हामीले आईभीएफ विधिमा जानुपर्छ ।
आईभीएफलाई हामी ‘इन भिट्रो फर्टिलाइजेसन’ भन्छौं । प्राकृतिक गर्भधारण गर्दा के हुन्छ भने महिलाको डिम्बाशयबाट अण्ड उत्पादन हुन्छ । त्यो अण्ड पाठेघरको नलीमा आएर बस्छ । अब श्रीमानसँग शारीरिक सम्पर्क भइसकेपछि शुक्रकीट पाठेघरमा पुग्छ । पाठेघरमा अण्ड र शुक्रकीट निषेचित हुन्छ र गर्भ रहन्छ । यी सबैकुरा शरीरको भित्री भागमा हुने भएकाले यसलाई हामी इन भिट्रो फर्टिलाइजेसन भन्छौं ।
अब आईभीएफमा के हुन्छ भने शुरुमा त महिलाको मासिक चक्रलाई ख्याल गर्नुपर्छ । पाठेघरको अवस्था जाँच गरिन्छ । त्यसपछि उक्त महिलालाई हाम्रो निगरानीमा राख्छौं । मासिक श्राव भएको १०-१२ दिनपछि अण्ड निषेचनका लागि इन्जेक्सन दिइन्छ । त्यसपछि त्यहाँ सुई छिराएर अण्ड निकालिन्छ ।
त्यही दिन हामीले श्रीमानलाई बोलाएका हुन्छौं । श्रीमानले वीर्यको नमुना निकाल्छन् । त्यसपछि ल्याबमा लगेर शुक्रकीट र अण्डलाई फर्टिलाइज गरिन्छ । त्यस दिन श्रीमान र श्रीमतीलाई चार-पाँच घण्टा निगरानीमा राखेर घर पठाइन्छ ।
अनि तीन-चार दिनपछि श्रीमतीलाई बोलाइन्छ । यसदिन श्रीमान नभए पनि हुन्छ । श्रीमतीलाई ल्याबमा लगेर जुन भ्रुण बनेको हुन्छ, त्यो पाठेघरमा लगेर राखिदिन्छौं । भ्रूण ल्याबमा तयार भएपनि त्यो पाठेघरमै राखेर पाठेघरमै हुर्किन्छ । यसरी आफ्नै वंश खोज्ने हामीकहाँ जुन मानसिकता छ, त्यस अनुरुप नै यसरी बच्चा जन्माउन सकिन्छ ।
यसमा केही जटिलता हुने भनेको सबै प्रक्रिया सफल भएर पनि कहिलेकाहीं गर्भपतन हुनसक्छ । यसैगरी यसमा जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मने सम्भावना पनि रहन्छ । तर, यसको सबल पक्ष भनेको के हो भने यदि दम्पतीमा कुनै वंशानुगत समस्या छ भने त्यो बच्चामा सर्न पाउँदैन । सामान्य हिसाबले गर्भाधान गर्दा वंशानुगत समस्या पनि बच्चामा आउन सक्छ । तर, आईभीएफ गर्दा आमाको अण्ड र बाबुको शुक्रकीट दुवै निकाल्न अनि ल्याबमा राखेर स्क्रिनिङ गरिने भएकाले वंशानुगत समस्या भए वा नभएको पहिले नै थाहा हुन्छ ।
(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.श्वेता सिंह)
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९