२०८१ मंसिर ६, बिहिबार
देवकी थापा/पत्रकारिता विश्वासको पेशा हो । पत्रकार र पत्रकारिताको लागि विश्वसनियता ठूलो पुँजी हो । यसले समाजलाई बाटो देखाउने र देश तथा समाजको स्थायित्वको लागि प्रमुख भूमिका खेलेको हुन्छ । तर राष्ट्रको चौथो अङ्गको रूपमा नेपालको संविधानमा उल्लेख भएको पत्रकारिता क्षेत्र समयको गति र तीव्रतासँगै यसका विश्वसनियता धुमिल हुँदै गएको छ । राज्यले नै संविधानमा चौथो अङ्गको मान्यता दिएको पत्रकारितामा जनमानसमा विश्वास गुम्दै गएको परिवेशमा यसको विषयवस्तुमा गहन छलफल जरुरी छ । पत्रकारितामा विकृति हुनुको कारण खोजिनु आवश्यक रहेको छ ।
वर्तमान समयले संसारलाई सूचना र प्रविधिमा पोख्त बनाएको छ । यससँगै मिथ्यो सूचनाको विकविकी पनि बढ्दो छ । हरेक स्थानीय स्तरमा पत्रकारिताको थालनी भएको छ । यो निकै सराहनीय कुरा हो । तर स्थानीय स्तरबाट त्यहाँको आवाज मुखरित नहुनु स्थानीय पत्रकारिताको जटिलता हुन सक्छ । पेसागत सुरक्षा र पत्रकारितामा पहुँचका हिसाबलेसमेत चुनौती अवश्य छ । विश्वसनीयता पत्रकारको सबैभन्दा ठूलो पूँजी हो । जनताको विश्वास कमाउनुलाई नै पत्रकारिताको सबैभन्दा ठूलो प्राप्ति मानिन्छ । पत्रकारिताप्रति जनविश्वास गुम्नुभन्दा ठूलो हानी पत्रकारिताका लागि केही हुँदैन ।
लोकतन्त्र, नागरिकको अधिकारको रक्षा र राष्ट्रको समुन्नतिका लागि आफ्नो कर्तव्यलाई हरपल अधिकार समान ठान्नुपर्दछ । यसैमा पत्रकारिताको पेशागत सम्मान, मर्यादा र अधिकार अन्तरनिहित हुन्छ, सबैको हित हुन्छ । सत्य र सन्तुलन अवलम्बन गर्ने पत्रकारिता नै जनताको विश्वासिलो बन्न पुग्छ । हिजोका दिनमा हातैबाट लिखितम गरी प्रकाशन गरिने पत्रपत्रिकाका आजकाल आधुनिक प्रविधिको प्रयोगबाट प्रकाशन भएका छन् । पत्रकारिताका लागि विभिन्न आधुनिक उपकरणका विकाससँगै यस्ता कुराका प्रयोगले पत्रकारितामा केही नवीनतम परिवर्तनको आभास भनी पक्कै दिलाइदिएको भेटिन्छ । तर लामो पत्रकारिताको इतिहास मुलुकले बोकी रहँदा जुन कुरामा वास्तविक गुणस्तरीय परिवर्तन देखिनु पर्ने हो, त्यो वास्तवमा नै शून्य पाइन्छ । पत्रकारिता भित्रका ती कयौं ताण्डवको प्रताडितलाई रोक्नु पर्ने आजको चुनौती हो । जसले गर्दा समग्र पत्रकारितालाई हल्का रूपमा नेपाली समाजमा चित्रण हुन थालीरहेकोमा कुनै दुइमत छैन । सामान्यतया व्यक्ति हिसाब ज्ञानले सञ्चारमाध्यमलाई बुझ्ने परिवेशको ज्ञानको आवश्यकता हुन्छ ? यस्तो परिवेशको ज्ञान एक पत्रकारसँग कतिको छ ? पत्रकारितामा लागेको मानिसको क्षमता कति छ ? कति जोश अनि जागर छ, पत्रकारसँग जे छ, त्यो क्षमता हो । त्यो क्षमतालाई कुनै पनि हालतमा विस्थापनमा पठाउनु हुँदैन । सत्यबाट हामी कदापी भाग्न सक्दैनौ ।
पत्रकारिता विषय आफैमा अध्ययन गर्नुपर्ने विषय भएकोले पत्रकार बन्नका लागि अध्ययन अति आवश्यक रहेको मानिन्छ । अध्ययन विनाको पत्रकारिता हामीले कल्पना पनि गर्न सकिन्दैन । तर यहाँ वर्तमानमा देखिएका अधिकांश पत्रकारहरूमा शैक्षिक अध्ययन लगभग सामान्य कास बन्न आवश्यक शैक्षिक योग्यता पनि हामी पाउँदैनौ भने व्यवहारिक शिक्षाको कतिपय पत्रकारमा सुन्ने नै रहेको देखिन्छ । कुरा त पत्रकारितामा उसको क्रियाशीलता, निरन्तरता र पत्रकारिता सम्बन्धी सामान्यभन्दा सामान्य ज्ञानको प्रथम त योगदान हो जस्तो लाग्छ एक पत्रकारका लागि । अब प्रश्न उठ्छ शैक्षिक अध्ययन र व्यवहारिक शिक्षाका कमि रहेका पात्रहरू यदि पत्रकारितामा हाबी रहनु भनेको दिनप्रतिदिन पत्रकारिता चुनौतीका दिशामा लम्किनु सिवाय केही सम्भावना देखिन्न ।
पत्रकारले जुन विन्दुबाट रिझाउने काम थाल्छन, पत्रकारिताको अन्त्य त्यहीबाट हुन्छ । भनिन्छ, पत्रकारिता भनेको भक्तिगान होइन, यो त एक आलोचनात्मक चेत हो । यो कुनै पेशा मात्र होइन, यो त एक धर्म हो । पत्रकारहरूले सदैब सहि बाटोमै उभिनका लागि प्रयत्न गर्ने हो । सहिको मार्गमा उभिदा कतिको सफल होइन्छ या होइन्न, त्यो फरक पाटो हो । पत्रकारिताको सुरुवात न्याय अनि सहि बाटोबाटै हुनुपर्ने हुन्छ । जुन आफैंमा पत्रकारिता क्षेत्रको सर्वोच्च धर्म भित्र पर्छ । तर बिडम्बना यहाँ यस्तो हुँदैन ।
पछिल्लो समय नेपाली पत्रकारिता पेशाको झ्यालबाट छिरेर व्यवसायको ढोकाबाट निस्किने प्रवृत्ति बढेको छ, यसलाई मर्यादित बनाउन थप आवश्यक छ । पत्रकार आचारसंहिताको व्यवहारिक कार्यान्वयनको आवश्यकता छ । पत्रकारितामा देखिएका कयौं विकृति र विसङ्गति पछिल्लो समयका केही उदाहरण् हुन् । जसरी कन्टेटका नाममा भाइरल हुने नाममा एकले अर्कालाई सिध्याउन, बदनाम गर्नेे र समग्र नेपाली पत्रकारितालाई नै प्रभावित पार्नेसम्मका हर्कत अहिले भइरहेका छन । मिडिया उद्योगको परिभाषा दिँदै कतिपय युटुयुव, फेसबुकद्वारा चलाइने सामाजिक सञ्जालले त झन थप नेपाली पत्रकारिताको साख गिराउने काम गरेका छन् । वास्तविक पत्रकारलाई नै बदनाम र पेशाकै बेइज्जत गरेका छन । यसो हुनु किमार्थ ठीक होइन । जुन पत्रकार र पत्रकारिता विकासको सपना देख्नेहरूको लागि वास्तवमा हृदयबिदारक देखिन्छ । पत्रकारिता निश्चय नै पेशा हो व्यवसाय होइन । यो मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो । पत्रकारिता त उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धता हो । आज पत्रकारितामा नयाँ क्रान्ति आएको छ । सञ्चारक्षेत्रलाई केवल सिमितताभित्र प्रयोग गरिरहेको छ । प्रविधिमा मात्र होइन, प्रस्तुति, प्रयोग र प्रभावमा पनि । यसकारण पत्रकारिता पेशालाई नयाँ परिभाषासहित थप मर्यादित बनाउन जरुरी देखिन्छ । पत्रकारिता क्षेत्रमा प्राय इलेक्ट्रोनिक (विद्युतीय) र प्रिन्ट (छापा) दुवै क्षेत्रको मिडियामा सञ्चार उपकरणको अभाव र प्राप्त तालिम ज्ञानको अभाव छ ।
पत्रकारितामा विचार, प्रक्रिया, आदर्श, निष्ठा, सिद्धान्त सबै मौन भएको हामी पाउछौ । समयको विकास अनि परिवर्तनसँगै ज्ञान, चिन्तन र अनुशासनको निरन्तरता र विकास पत्रकारितामा पनि भेटिनु पर्ने हो । कयौं परिवर्तनहरू सँगै ज्ञान, चिन्तन र अनुशासनमा लामो पत्रकारिताको इतिहास मुलुकले बाँकी रहँदा यी यथावत कुरामा परिवर्तन र निरन्तरता नहुँदा, पत्रकारिताका नाउँमा भएका कयौं परिवर्तन आज अर्थहीन साबित भइरहेका छन् । यिनै कुराबीचको अन्तर छुट्याउन र पत्रकारितालाई उत्तरदायित्व र जवाफदेहीपूर्ण पेशा बनाउन र मिडिया क्षेत्रको सर्वाङ्गीण हित र विकासका लागि दिगो पत्रकारिताको नीति ल्याउनुपर्ने देखिन्छ ।
यदि पत्रकारिता पेसा गर्ने हो, पेसामा क्रियाशील रहने हो र हाम्रो उपस्थितिको औचित्य पुष्टि छ कि, छैन भन्ने विषयमा आत्ममूल्याङ्कन गर्ने हो भने, समाजका दृष्टि बदल्ने हिम्मत हामीसँग हुनुुपर्दछ । आफुलाई समाजसँग तुलना गरौं । समाजले तपाई हामीलाई दया, माया करुणा बाँडेको छ वा घृणाका पात्र परिभाषित गरिदिएको छ त्यो पनि बुुझौं । समाजमा हामी जे खाज्छौं, त्यही भेट्याउँछौं । राम्रो खोज्यौं राम्रो र नराम्रो खोज्यौं नराम्रो यही समाजबाट पाउँछौं । पात्रको प्रवृत्ति समेत हामी खोजकर्ताको अभ्यास, अभ्यासको निरन्तरता र निरन्तरताले अंगालेको अभ्यस्त मानसिकताले बोक्छ । सायद पत्रकारितामा मानसिकताले बालेको लेख्छौं, पढाउँछौं । समाजले समेत सकरात्मक भन्दा नकरात्मक सवालमा बढी रुची देखाएको भएर होला, हामीले लेख्ने र बोल्ने गरेको प्रवृति पत्रकारिताले समाजलाई सिकाएको पनि त्यही हो । पत्रकारिता र पत्रकारको आफ्नै आचारसंहिता रहेको छ । यसको गाम्भीर्य र महत्व विशेष रहेको छ । तर यसको विविधता र पत्रकारको चेतना, दक्षता र योग्यताका कारण यो पेशा धुमिल हुँदै गइरहेको छ । पत्रकारिता जस्तो संवेदनशील क्षेत्रको दुरूपयोग गरेर व्यक्ति केन्द्रित स्वार्थमा बग्नु आफैंमा दुर्भाग्यपूर्ण छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९