२०८१ मंसिर ७, शुक्रबार
ललितपुर :- यस बर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकामा कार्यरत शिवहरि घिमिरे र देखापढी न्युज अनलाइनमा कार्यरत पत्रकार रोजिना थापालाई प्रदान गरिएको छ। प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाले शनिबार एक कार्यक्रमका विच प्रेस सेन्टरका केन्द्रीय इन्चार्ज समेत रहेका नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य महेश्वर दाहाल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु प्रसाद सापकोटा (जुगल)ले पुरस्कार हस्तान्तरण गरेका हुन् ।
दुवै जनलाई पाँच हजार एक सय रुपैयाँका दरले पुरस्कार र सम्मान पत्र वितरण गरिएको छनौट समितिका सदस्य सचिव समेत रहेका प्रेस सेन्टर ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल बार एसोसिएसन ललितपुरका अध्यक्षको संयोजकत्वमा गठित ३ सदस्यीय पुरस्कार छनौट समितिले दुई जनाको नाम छनौट गरेको हो ।
माओवादी जनयुद्धकालमा राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको नाममा रहेको हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो वर्षदेखि ५१ हजारको अक्षयकोष निर्माणका लागि बेपत्ता पत्रकार नेपालीकी श्रीमती सविता बस्नेतले शनिबार ४१ हजार रकम हस्तान्तरण गरेकी छिन् ।
कार्यक्रममा बस्नेतले प्रेस सेन्टरले आफ्नो श्रीमानको योगदानलाई कदर गर्दै बिभिन्न कार्यक्रम गरेको प्रति आभार प्रकट गरिन । उनले आफूहरुले आस्था बोकेको पार्टी माओवादी केन्द्रले जनयुद्धका क्रममा शहिद, बेपत्ता र घाइते भएकाहरुको सपना पूरा गर्न थप जनपक्षीय काम गर्नुपर्नेमा जोड दिइन ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले जनयुद्धको उपलब्धी रक्षा र परिवर्तनको पक्षमा पत्रकारहरुले खबरदारी गरिराख्नु नै मिलन नेपालीहरु प्रति सच्चा सम्मान हुने बिचार व्यक्त गरे । उनले माओवादी केन्द्र बाहेक कुनै दलसँग पनि परिवर्तन र अग्रगमनको एजेन्डा नभएको दावी गर्दै त्यो एजेन्डा जनतामा स्थापित गर्न पत्रकारहरुको अहम भूमिका रहने बताए ।
उक्त अवसरमा माओवादी केन्द्र ललितपुर जिल्ला इन्चार्ज दिनेश महर्जनले आसन्न निर्वाचनलाई केन्द्रमा राखी माओवादी केन्द्रको नीति जनतासम्म पुर्याउन र परिवर्तनको पक्षमा मत आकृष्ट गर्न आग्रह गरेका थिए भने प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगल र उपाध्यक्ष निर्मल ज्ञवालीले प्रचारको मोर्चा सम्हाल्न प्रेस सेन्टर पूर्ण प्रतिवद्ध र तम्तयार रहेको बताएका थिए ।
प्रेस सेन्टर ललितपुरका सचिव दिपक अर्यालले संचालन गरेको उक्त कार्यक्रममा जिल्लाका सस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९